संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरियो

काठमाडौं,जेठ,१८-संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश गरिएको छ ।आइतबारको बसेको संसद बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेस गर्दै मन्त्री शिवमाया तुम्बाहाङ्फे। तस्वीरः संघीय संसद सचिवालय

प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पारित भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेनन् ।

संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापमा उल्लेख भएको नक्शा नेपालको परिमार्जित वास्तविक नक्शाअनुरुप बनाउनुपर्ने भएकाले संविधान संशोधन विधेयक ल्याएको मन्त्री तुम्बाहाङ्फेले संसदलाई जानकारी दिइन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्शा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो । त्यसअघि मन्त्रिपरिषद बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्शा पारित गरेको थियो ।

जेठ १४ गते नै संसद बैठकको कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने उल्लेख भएपनि पछि हटाइएको थियो । संविधान संशोधन प्रस्तावमा राजपा बाहेकका अरु दलले समर्थन गर्ने भएका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसले शनिबार केन्द्रीय समितिबाटै निर्णय गरी संशोधन प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको छ । समाजवादी पार्टी, राप्रपालगायत दलले पनि संशोधनको पक्षमा मतदान गर्ने जनाएका छन् ।

२०७२ असोज ३ गते जारी भएको नेपालको संविधानको पहिलो संशोधन २०७२ सालकै असोज १० गते भएको थियो ।ईमेजबाट