नेपाल र भारतबीच आठ सम्झौता पत्रमा हस्ताक्षर

नयाँ दिल्ली, भदौ ८-

भारतको ५ दिने राजकीय भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई मुलुकका प्रधानमन्त्रीबीच एक्ला–एक्लै भेटवार्ता भएको हो । भेटवार्तामा दुई मुलुकको आपसी हित र सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको बताइएको छ ।

नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

यसैबिच : नेपाल र भारत बीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।समझदारी भएका आठ बुँदा मध्य चारवटा भूकम्प पछिको पुनर्निर्माणको बारेमा रहेको छ। भुकम्पपछिको पुनर्निर्माण सम्बन्धी बुँदामा यसअघि भारतले पुनर्निर्माणका लागि दिने भनिएको सहयोगको कार्यन्वयन सम्बन्धी रहेको छ।

भुकम्पपछिको पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने वचन दिएको क्षेत्रहरु शिक्षा, स्वास्थ्य, संस्कृति तथा सम्पदा र आवासमा सहयोग कार्यान्वयन सम्बन्धी ‘मोडालिटी’ बारेमा समझदारी भएको हो।

त्यसैगरी मेची नदीमा पुल निर्माण, नेपाल र भारतका उत्पादनहरुको निर्यात सम्बन्धी मापदण्ड निर्धारण व्यूरो बनाउने र अवैध लागुऔषध नियन्त्रण गर्ने सम्बन्धमा संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी रहेको छ।चार्टर एकाउन्टेन्सी सम्बन्धि बिषयमा पनि नेपाल र भारतका चार्टर एकान्टेन्ट संस्थाहरुबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

साथै प्रधानमन्त्री देउवाले नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनु भएको छ । देउवाको प्रस्तावलाई मोदीले सकारात्मक रुपमा लिनुको जनाईएको छ । उहाँले नेपाल भ्रमण गर्ने बचन  दिनुभएको छ ।