नादेझ्दा कप : आज नेपालले आयोजक किर्गीस्तान संग खेल्ने

खेल नेपाली समय अनुसार ३:४५ मा सुरु हुने

काठमाडौं,भाद्र,२२-

किर्गीस्तानमा आजबाट सुरु हुने ‘नादेझ्दा कप’ फुटबलको पहिलो खेलमा नेपालले आज (आइतबार) आयोजकसँग खेल्दैछ । 

काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालले किर्गीस्तानको सामना गर्नेछ । नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार ३:४५ मा सुरु हुनेछ ।

प्रतियोगिताको लागि १८ खेलाडी २३ सदस्यीय नेपाली टिम बिहिबार नै किर्गीस्तान पुगिसकेको छ । र, घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

तुलनात्मक रुपमा किर्गीस्तानको महिला टिम नेपाल भन्दा कमजोर मानिएको छ । फिफा वरियतामा किर्गीस्तानको महिला टिम अटाउन सकेको छैन । नेपाल भने १०१ औं स्थानमा रहेको छ । पुरुष फुटबलमा भने किर्गीस्तान एसियाकै बलियो टिममा पर्ने गर्छन् ।

तर, उपाधि जित्ने लक्ष्यसहित किर्गीस्तान पुगेको नेपाली टोलीलाई घरेलु टोलीले कठिन चुनौती भने दिनेछ । किर्गीस्तानलाई घरेलु मैदान र समर्थकको साथ समेत रहन्छ ।

पहिलो पटक आयोजना हुन लागेको नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानको सहभागिता रहेको छ  ।

दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ । 

लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल भदौ २६ गते हुनेछ ।

नेपालले यस प्रतियोगितालाई घरेलु भूमिमा आयोजना हुने १३ औं सागको तयारीको रुपमा लिएको छ । साभार खेलपाटी बाट

नेपाली टिम :

गोलकिपर : एन्जिला सुब्बा, अन्जना राना मगर

डिफेन्डर : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर,कविता धिमाल, अस्मिता जैसी

मिडफिल्डर : मन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, शरु लिम्बु

फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी, इन्दिरा राई

मुख्य प्रशिक्षक : हरि खड्का

सहायक प्रशिक्षक : अरुणा गुरुङ

गोलकिपर प्रशिक्षक : अस्मिता खवास

टिम म्यानेजर : पेमा लामा