नेपाल-भारत प्रबुद्ध समूहको बैठक आजदेखि भारतको नयाँ दिल्लीमा

काठमाडौ,चैत,२९-

नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को आठौँ बैठक आजदेखि भारतको नयाँ दिल्लीमा बस्दैछ । नेपाल भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित प्रबुद्ध समूहको बैठकका लागि नेपाली टोली दिल्ली पुगिसकेको छ ।

आज र भोली दुई दिन बस्ने बैठक प्रतिवेदन लेखनमा केन्द्रित रहने समिति सदस्य निलाम्बर आचार्यले जानकारी दिनुभयो । दुई देशमा आलोपालो गरी बैठक बस्ने सहमति अनुसार यसपटकको बैठक भारतमा बस्न लागेको हो ।

यसअघि गएको फागुन १३ र १४ गते काठमाडौंमा बसेको बैठकमा नेपाल र भारत दुवै पक्षले सम्बन्ध सुधारका लागि गर्नु पर्ने काम सम्बन्धीको मस्यौदा आदान–प्रदान गरेका थिए । आजदेखि सुरु हुने बैठकमा दुवै पक्षले एक अर्काको प्रतिवेदनमा सुझाव दिने छन् ।

बैठकमा नेपाल पक्षले दिएको मस्यौदामा भारतीय पक्षले प्रतिक्रिया दिने र दुई पक्षीय सम्बन्ध सुधारका बाध्यता पनि भारतीय पक्षले जानकारी गराउने बुझिएको छ । नयाँ दिल्लीमा हुने बैठकपछि अन्तिम प्रतिवेदन लेखनमा दुवै पक्ष जुट्ने तयारी रहेको छ ।

पिजीको नेपाली समूहमा पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा (संयोजक), पूर्वसांसद डा राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय छन्। त्यस्तै भारतीय समूहमा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी (संयोजक), प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती तथा कूटनीतिज्ञ जयन्तप्रसाद रहेका छन् ।नेपालवाणीबाट साभार