विश्वकपमा ब्राजिलको पहिलो जित : कोष्टारिका र पेरु बाहिरियो

फ्रान्स विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश

काठमाडौं,असार,८-

रसियामा जारी विश्वकप फुटबलमा उपाधी दाबेदार मानिएको ब्राजिलले पहिलो जित दर्ता गरेको छ ।

निर्धारित ९० मिनेटको समय सकिएपछि थप गरिएको इन्ज्यूरी समयमा २ गोल गर्दै ब्राजिलले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । ब्राजिलका लागि कौटिन्हो र नेइमारले १-१ गोल गरे ।

यसअघी गोलरक्षक केइलर नाभासले उत्कृष्ट प्रदर्शन गरेपछि कोष्टारिकाले ब्राजिललाई ९० मिनेट सम्म गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

लगातार दोस्रो हारसँगै कोष्टारिका प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा कोष्टारिका सर्बियासँग पराजित भएको थियो ।पहिलो खेलमा स्विटजरल्याण्डसँग बराबरी खेलेको ब्राजिलले आजको जितसँगै ४ अंक जोड्दै दोस्रो चरण प्रबेश गर्ने संभावना बलियो बनाएको छ ।

बिश्वकप फुटबलन्तर्गत आजको दोस्रो खेलमा नाईजेरिया र आईसल्याण्ड भिड्नेछन् । यो खेल भोल्गोग्राद एरिनामा  नेपाली समय अनुसार बेलुकि पौने ९ वजे सुरु हुनेछ ।पहिलो खेलमा क्रोएसियासँग हारेको नाईजेरिया र अर्जेन्टिनासँग बराबरीमा रोकिएको आईसल्याण्ड समुहबाट दोस्रो चरणमा पुग्न आज जित्नैपर्ने दबाबमा छन् ।

आजै हुने तेस्रो खेलमा सर्विया र स्विट्जरल्याण्ड भिड्नेछन् । यो खेल कालिनिन्ग्राद रंगशालामा राती पौने १२ वजे सुरु हुनेछ ।सर्वियाले पहिलो खेलमा कोष्टा रिकालाई हराएको थियो भने स्विट्जरल्याण्डले ब्राजिललाई बराबरीमा रोकेको थियो ।  

यसैविच : उपाधि दाबेदार मानिएको फ्रान्स विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । लगातार दोस्रो जित दर्ता गर्दै फ्रान्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

गएराति भएको खेलमा फ्रान्सले पेरुलाई १–० ले पराजित गर्‍यो । खेलमा फ्रान्सलाई जिताउन ३४ औं मिनेटमा किलिएन एम्बाप्पेले गरेको गोल निर्णायक बन्यो । पेरुले खेल अवधिभर थुप्रै राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा पराजित हुनुपरेको हो ।

यसअघि समूह ‘सी’ को पहिलो चरणका खेलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ ले पराजित गर्दा पेरु डेनमार्कसँग १–० ले हारेको थियो ।लगातार दोस्रो हारसँगै पेरु प्रतियोगिताबाट बाहिरिएको छ ।