धेरै नेपाली भएको देशमा उद्दार उडानलाई प्राथमिकता दिने सरकारको निर्णय

फाईल तस्विर !

काठमाडौं,साउन,४-कोभिड १९ (कोरोना) क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै नेपाली रहेका देशमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

सरकारले विभिन्न देशबाट अलपत्र नागरिकलाई उद्धार गरिरहेको अवस्थामा ठूलो संख्यामा नेपाली रहेका देशबाट उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउनको सन्दर्भमा परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी छलफल गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

क्वारेन्टाइनमा रहेको संख्या घट्दै गएकाले पीसीआर परीक्षणको संख्या पनि घटेको गुरागाईंले बताउनुभयो ।उहाँले आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउन सक्ने अवस्थामा स्वास्थ्य मन्त्रालय रहेको जानकारी दिनुभयो ।