मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु

सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) नम्बरको दुर्घटनाग्रस्त हेलिकोप्टरको भाग। तस्वीर : रासस

काठमाडौं,असार,२६-सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाकै मृत्यु भएको छ ।

मृत्यु हुनेमा क्पाप्टेन चेत गुरुङ र मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्।मृत्यु भएका ६जनाकै शव भेटिएको प्रहरीले जनाएको छ।

मृतकहरु सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताउनुभयो।स्थानीयबाट हेलिकप्टर दुर्घटनाको खबर आउना साथ सोलुदुधकुण्ड नपा २ वेनी स्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको हो।

मंगलबार विहान १० बजेर १० मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौका लागि उडेको मनाङ एयरको नाईन एनए एमभि कलसाईन हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको थियो । मृतकको शव काठमाडौं लैजानको लागि हेलिकप्टर पठाईए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर दुर्घटना स्थल पुग्न सकेको छैन ।

अल्टिच्युट एयरको २ वटा हेलिकप्टर अहिले भकान्जे चौरमा अवतरण गराएर राखिएको र मौसम खुल्ना साथ घटना स्थल पुग्ने प्रजिअ भट्टराईको भनाई छ ।