एप्पल कम्पनीले गर्यो विश्वभरका सबै स्टोर बन्द

काठमाडौं,चैत्र,२-विश्वकै अग्रणी प्रविधि कम्पनी एप्पलले विश्वभरका आफ्ना स्टोरहरु बन्द गरेको जनाएको छ । कम्पनीका सिईओ टिम कुकले आधिकारीक स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन् ।

अमेरिकी कम्पनी एप्पलले यसअघि चीनमा रहेका आफ्ना स्टोरहरु शुक्रबार मात्र खुला गरेको थियो । चीनमा रहेका स्टोरहरु भने करिब दुई महिना बन्द भई शुक्रबार मात्र खुलेका हुन् ।

कम्पनीले चीनभन्दा बाहिरका सबै स्टोर बन्द गर्ने निर्णय गरेको हो । मार्च २७ सम्म ती स्टोरहरु बन्द रहने कुकले शनिबार जानकारी दिएका हुन् ।

यसैगरी कम्पनीले कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रणमा सहयोग गर्न १५ मिलियन अमेरिकी डलर दिने प्रतिबद्धता पनि जनाएको छ ।

विश्वभर कोरोना भाइरसको महामारीले उच्च जोखिम निम्त्याएपछि यस्तो निर्णय गर्नुपरेको एप्पलले जनाएको छ ।

स्टोर बन्द गरेपनि एप्पल वेबसाइटबाट सामान किन्न सक्ने वा अन्य अनलाइनमार्फत खरिद गर्न सकिने एप्पलले जनाएको छ ।