शिक्षामा राजनीतिक वितण्डा सह्य हुँदैन : प्रचण्ड

काठमाडौं,साउन,८-

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन् । शिक्षालाई निहु बनाएर विपक्षि दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै प्रचण्डले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारेका हुन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको पाँचदिने सूचनाप्रविधि शिक्षा तथा नेतृत्व विकास कार्यशाला तथा पुस्तक विमोचन कार्यक्रमको राजधानीमा उद्घाटन गर्दै प्रचण्डले डा. गोविन्द केसीको अनशनलाई विपक्षीहरुले राजनीतिक स्थिरता अन्त्यगर्ने हतियारका रुपमा प्रयोग गरेको भन्दै आन्दोलनले समस्या समाधान भन्दा अराजकता मात्रै फैलिने टिप्पणी गरे ।

डा. केसीका सम्बन्धमा वार्ता गर्न खोज्दा पनि विरोध, समस्या समाधान गर्न खोज्दा पनि विरोध, विपक्षीदलहरुले चाहेको के हो ? प्रचण्डले प्रश्न गरे–केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश ।नेपालमा कम्युनिष्टहरु बलियो भएको देख्न नचाहने देशीविदेशी बुर्जुवाहरुले डा. केसीको अनशनलाई राजनीतिकरण गरेको प्रचण्डले आरोप लगाए ।

निरन्तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र जुम्लामा जटिल उपचारको व्यवस्था नभएकाले डा. केसीलाई ज्यान बचाउन काठमाडौं ल्याउदा सरकारले अपहरण शैलीमा ल्यायो भनेर प्रचार गरिएको प्रति प्रचण्डको आक्रोश व्यक्त गरे । सरकारले डा. केसीलाई काठमाडौं ल्याएर उनको जीवनरक्षाको जिम्मेवारी मात्रै पुरा गरेको प्रचण्डले दावी गरे ।

अर्को, प्रसंगमा अध्यक्ष प्रचण्डले शिक्षामा सामान्य नभइ आमूल परिवर्तन आवश्यक रहेकाले शिक्षकहरु त्यस दिशामा लाग्नुपर्ने बताए । शिक्षकहरुको विगतको भुमिकामा परिवर्तन आवश्यक रहेको भन्दै प्रचण्डले शिक्षामा आमूल परिवर्तनले मात्रै समाजवादको परिकल्पना साकार हुने जिकिर गरे ।

कार्यक्रममा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई कारण बनाएर केही अराजक समूहले शिक्षालाई अस्तव्यस्त पार्न खोजेको आरोप लगाए । चिकित्सा शिक्षाका समस्या समाधानमा काम हुँदाहुँदै बीचमै अनशन बसिएको र अनशनको कारण चिकित्सा शिक्षा अस्तव्यस्त बनाउने राजनीतिक खेल शुरु भएको पोखरेलले जिकिर गरे ।

जिल्ला प्रशासन, प्रदेश प्रमुखलगायत सवैले गोली नचलेको प्रदर्शनकारीको सिसाको टुक्रा लागेर प्रहरी घाइते भएको बताउँदा बताउँदै पत्रपत्रकाहरुले एकोहोरो गोली चलेको समाचार प्रकाशित गरेको प्रति मन्त्री पोखरेलले आक्रोश व्यक्त गरे ।

प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलालले अब वैज्ञानि, व्यवहारिक, जीवनउपयोगी शिक्षा मात्रै भनेर नपुुग्ने व्यवहारमै लागु गर्नुपर्नेमा जोड दिँदै स्मार्ट दिमागका शिक्षकले मात्रै स्मार्ट शिक्षा दिन सक्ने बताए ।एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षकहरुलाई सूचना प्रविधिमैत्री बनाउनका साथै शिक्षण सिकाइलाई प्रविधियुक्त र सीपमूलक बनाउन पाँच दिने सूचना प्रविधि कार्याशाला सञ्चालन गरिउको जानकारी दिए ।

अब कम्प्युटर चलाउन नजान्ने, इन्टरनेटमा सामग्री खोज्न नजान्ने व्यक्ति असल शिक्षक बन्न नसक्ने भएकालेनै संगठनले आफ्नै पहलमा शिक्षकहरुलाई सूचनाप्रविधिमैत्री बनाउने पहल शुरु गरेको उनले जिकिर गरे । अब शिक्षक संगठनको भुमिका पनि रुपान्तर हुन जरुरी छ, आन्दोलनमा मात्रै केन्द्रित संगठनहरु अब शिक्षण सिकाइ सुधारमा केन्द्रित हुन जरुरी छ ।–अधिकारीले भने–संगठनले त्यसैको शुरुवात गरेको छ ।

कार्यक्रममा संगठनको मूखपत्र शिक्षक आह्वान पुस्तकको विमोचन गरिउको थियो । संगठनले आजबाट शुरु गरेको सूचना प्रविधि शिक्षा तथा नेतृत्व विकास कार्याशाला पाँच दिनसम्म सञ्चालन हुनेछ । कार्यशालामा देशभरका दुईसय बढी शिक्षकहरुको सहभागीता रहेको छ ।