प्रचण्डलाई कांग्रेसको जवाफ– आफ्नो पृष्ठभूमि हेक्का राख्नु पर्दैन ?

काठमाडौं,साउन,७-

सत्तारुढ दल ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाशको राजनीति गर्न खोजेको टिप्पणी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जवाफ फर्काएको छ । कांग्रेसले ने क पाका अध्यक्ष प्रचण्डलाई लाशको राजनीति गरेको आरोप लगाउनुअघि आफ्नो विगत सम्झिन सुझाव पनि दिएको छ । 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै प्रचण्डलाई भनेका छन्, ‘‘लाशको राजनीति आरोप लगाउनुअघि आफ्नो व्यक्तित्वको उचाइ र पृष्ठभूमि हेक्का राख्नुपथ्र्यो कि ।’’प्रचण्डले सोमबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा डा. गोविन्द केसीप्रति आक्रोश व्यक्त गर्दै कांग्रेसले लाशको राजनीति गरिरहेको आरोप लगाएका थिए । 

“उहाँ (डा. केसी) को जीवन रक्षा गर्ने दायित्व सरकारको हो । तर अर्को पक्ष (कांग्रेस)  हत्या गर्न चाहन्छ । लाशको राजनीति गर्न चाहन्छ । यो के विडम्बना हो ? सरकारले जीवन रक्षा गर्न चाहेको छ । फेरि सरकार र लिडरमाथि नै आरोपै आरोप छ । हामी कति लचिलो हुनुपर्ने हो, तयार छौं । कांग्रेसले खोजेको के हो ?,” उनको प्रश्न थियो । 

नेकपा अध्यक्ष प्रचण्डले कांग्रेसको सरकार हुँदा पनि डा. केसी अनशन बसेको स्मरण गर्दै त्यसबेला किन माग पूरा नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसकै जवाफमा कांग्रेस प्रवक्ता शर्माले प्रचण्डलाई डा. केसीका माग सम्बोधनका लागि कांग्रेसले माथेमा कार्यदल बनाएको र अध्ययादेश ल्याएको स्मरण गराएका छन् । 

 

उनले ट्विटमा लेखेका छन्, ‘‘कांग्रेस माथिको प्रश्नमा केवल यति भनौं, माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ?’’ कांग्रेस प्रवक्ता शर्माले प्रचण्डलाई सोधेका छन्, ‘‘डा. केसीले अनशन नबसेर के बन्दुक उठाउनु पथ्र्याे ?’’साभार १२बरीबाट