तनहँ १ बाट जोशीको उम्मेदवारी निर्वाचन आयोगद्वारा खारेज

तनहँ,कार्त्तीक,१८-

तनहुँ क्षेत्र नम्बर १ बाट गोविन्दराज जोशीले दिएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। उनीविरुद्ध कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिनुभएको थियो ।

आज शनिबार बसेको आयोगको बैठकले जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने भन्दै आयोगले जोशीको उम्मेदवारी खारेज गरेको हो।

जोशीविरुद्ध उजुरी परेपछि तनुहँका मुख्य निर्वाचन अधिकृतले आयोगसँग निर्देशनको माग्नु भएको थियो । नैतिक पतन देखिएका उम्मेदवार अयोग्य हुने प्रावधानअनुसार जोशीको उम्मेदवारी बदर गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

तनहुँ १ बाट टिकटको दाबी गरेका जोशीलाई संसदीय बोर्डले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दर्ता गर्नु भएको थियो । जोशीले वागी उम्मेदवारी दिएपछि कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलले उनी भ्रष्टाचारी भएको भन्दै आयोगसमक्ष उजुरी दिनुभएको थियो ।

पौडेलले जोशी भ्रष्टाचारी ठहर भएको अदालतको फैसलाको प्रतिलिपि पनि पेस गर्नु भएको थियो । जोशीलाई विशेष अदालतले २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर गरेको थियो। सो फैसला अहिले पनि कायम रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन्।