ट्रम्प र किमबीच चारबुँदे सहमतिमापत्रमा हस्ताक्षर

काठमाडौं,जेठ,२९-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले प्योङयाङलाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्णपरमाणु निःशस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने ऐतिहासिक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

मंगलबार सिंगापुरको सेन्तोसा टापुमा अवस्थित कापेला होटलमा दुई नेताबीच भएको वार्तापछि चारबुँदे सहमतिमा हस्ताक्षर भएको हो ।सहमतिपत्रमा ‘संयुक्तराज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहनाबमोजिम अमेरिकी र उत्तर कोरियाली नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन्’–उल्लेख गरिएको छ ।

यस्तै, दुवै मुलुकले कोरियाली प्रायद्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउने प्रतिबद्धता जनाएका छन् ।सहमतिमा पाममुनजम घोषणापत्रप्रति समर्थन जनाउँदै उत्तर कोरिया पूर्णपरमाणु निःशस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्ने जनाइएको छ ।

सहमतिको चौथो बुँदामा दुवै मुलुकले युद्धबन्दी र लडाइँकाक्रममा बेपत्ता भएकाहरुको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव अवशेषहरुलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाएका छन् ।

दुवै नेताले वार्ता सोचेभन्दा बढी सफल भएको बताएका छन् । ऐतिहासिक वार्तापछि विगतलाई पछाडि छोड्दै अमेरिकासँग नयाँ सम्बन्ध कायम भएको उत्तर कोरियाली नेता किमले बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीपसँग विगतभन्दा फरक सम्बन्ध हुने बताए । आफूहरुबीच वास्तवमै राम्रो सम्बन्ध भएको अमेरिकी राष्ट्रपतिको भनाइ थियो ।

उत्तर कोरियाको निःशस्त्रीकरण प्रक्रिया छिट्टै सुरु हुने ट्रम्पले बताए । किमलाई ‘ह्वाइटहाउस’ भ्रमणको निम्तो दिँदै अमेरिकी राष्ट्रपतिले निकट भविष्यमा फेरि आफूहरुबीच भेटवार्ता हुने जानकारी दिए ।

यसअघि, मंगलबारै ट्रम्प र किमबीच दोभासेमार्फत् एक्ला–एक्लै करिब ४५ मिनेट र त्यसपछि दुवै मुलुकका प्रतिनिधिमन्डलबीच वार्ता भएको थियो ।शिखर वार्ताका लागि ट्रम्प र किम आइतबार नै सिंगापुर पुगेका हुन् । दुवै नेता आजै स्वदेश फर्कंदैछन् । वार्तास्थलको सुरक्षा जिम्मा सिंगापुर प्रहरीमा कार्यरत् नेपालीले पाएका थिए । (एजेन्सी) ईमेजखबरबाट