ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

जापान र दक्षिक्ष कोरिया बाहिरिए !!

काठमाडौं,मंसिर,२०-ब्राजिल र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।ब्राजिलले दक्षिण कोरियालाई तथा क्रोएसियाले जापानलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

सोमबार राति भएको राउण्ड सिक्सिटन अन्तर्गतको खेलमा ब्राजिलले कोरियालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३– १ गोलले पराजित गरेको हो ।

ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो ।खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए।खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाए।दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै ब्राजिल ३–० को अग्रता लियो । यस्तै ३६औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गर्दै ब्राजिललाई ४–० को अवस्थामा पुर्याए । खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ–होले एक गोल फर्काए पनि ब्राजिल ४–१ ले विजयी भयो ।

यसैगरी, सोमबार राति भएको अर्को खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा पनि खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसिया क्वार्टर फाइनलमा पुग्यो । क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरेका थिए । मार्को लिभाजा भने पेनाल्टीमा चुके ।

जापानका ताकुमा असानोले एक गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले रोकेका थिए ।

पेनाल्टीमा जानु अघि जापानले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा डाईजेन मादाले गोल गर्दै जापानलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यो जितसँगै क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।कोरिया र जापान भने राउण्ड अफ (१६)सिक्टिनबाटै बाहिरिएका छन् । अब क्रोएसिया र ब्राजिलको भिडन्त क्वार्टरफाइनलमा हुनेछ ।