बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाण्डौं,भदौ,१२-

काठमाडौंमा  यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ  ।सम्मेलनमा सहभागी हुन आउने बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखको स्वागतका लागि राजधानी झकिझकाउ पारिएको छ ।

सम्मेलनमा भाग लिन बंगलादेश, भारत, म्यानमार, श्रीलंका, भुटान र थाइल्यान्डका कार्यकारी प्रमुख नेपाल आउँदैछन् ।सम्मेलनमा भाग लिन आउने अतिथिहरु प्रवेश गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनीहरु बस्ने होटल सोल्टीसम्मको सडक पिच गरिनुका साथै सडक वरिपरि रङरोगनसमेत गरिएको छ ।सडक आसपासको फोहोर सफा गरिएको छ भने सडक पखालेर टिलिक्क पारिएको छ ।

त्यसैगरी, ठाउँठाउँमा फूल रोपिनुका साथै निर्माणाधीन संरचनाहरुलाई छोपिएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्म र सुन्धारादेखि राष्ट्रपति कार्यालय शीतल निवाससम्म ठाउँठाउँमा नेपालका ऐतिहासिक सम्पदा झल्कने स्वागतद्वार बनाइएका छन् ।

त्यतिमात्र होइन, स्वागतद्वारमा बिम्स्टेक बैठकमा सहभागी हुने राष्ट्रका प्रमुखदेखि प्रतिनिधिसम्मका तस्वीर राखिएको छ ।बिम्स्टेक सम्मेलनमा सहभागी हुन आउने अतिथि ओहोरदोहोर गर्ने सम्भावित सबै सडक सफा गरिएको छ । सरकारले रातारात गरेर बिम्स्टेक शिखर सम्मेलनको तयारीका लागि सडकका खाल्डाखुल्डी टाल्नेदेखि फोहोर सफा गर्नेसम्मका काम गरेको छ ।

यस्तै तयारी केही वर्षअघि काठमाडौंमा भएको सार्क शिखर सम्मेलनका बेलासमेत गरिएको थियो ।वर्षौंदेखि राजधानीका सडकमा देखिएका खाल्डाखुल्डी पुरिँदा धुलो र धुवाँ अनि अस्तव्यस्त सहरका केही भागमा हिँडडुल गर्न सहजमात्र बनेको छैन, सहरको मुहार नै परिवर्तन भएको देखिएको छ ।ईमेजखबरबाट