दसैंमा घर फर्कनेको लर्को

काठमाडौं, असोज १०-

बडादसैंका मुख्य दिनहरु नजिकिँदै गर्दा उपत्यकाबाट घर फर्कनेहरुको लर्को झन्–झन् बढ्दै छ ।राज्यको तर्फबाट दसैंको यात्रालाई सहज बनाउने पहल नहुँदा यात्रीहरुले निकै कठीन यात्रा गर्नुपर्ने बाध्यता छ ।

केही दिनयता दैनिक २ लाख व्यक्तिहरु उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक रहेको छ । काठमाडौंका गोंगबु बसपार्क, कोटेश्वर र कलंकीलगायतका स्थानहरुमा दैनिक घर फर्कनेको लर्को लाग्ने गरेको छ ।

विभिन्न पेसा, व्यवसाय तथा पढ्नका लागि उपत्यकामा रहेकाहरु घटस्थापनासँगै घर फर्कन थालेका हुन् ।दसैंमा घर फर्कन सजिलो भने पक्कै छैन । तैपनि, मानिसहरु दसैं मान्नका लागि जसोतसो घरै फर्कने गरेका छन् ।

नेपालगन्ज घर भएका नवराज सापकोटा वर्षमा एकचोटीमात्र घर जाने गरेको बताउँछन् । आफ्नो पढाइ र कामले गर्दा मन हुँदा पनि घर जान नपाइने गरेको उनको गुनासो छ ।दसैंमा आमा–बाबुको हातबाट टीका र आशिष थाप्ने, आफन्तजन र साथीभाइसँग भेट गरेर रमाइलो गर्ने सापकोटा बताउँछन् ।

धनगढी घर भएकी शोभा चन्द लामो समयदेखि आफ्नो परिवारसहित उपत्यकामा बस्दै आएकी छन् । छोरा–छोरीको पढाइ, आफ्नो व्यवसायका कारण गत वर्षको दसैंबाट फर्केपछि एकचोटी पनि घनगढी नगएकी चन्द दसैं आउनेबित्तिकै मनै रमाउने बताउँछिन् ।

वर्षौंदेखि भेटघाट नभएका आफन्तहरुसँग पनि भेटघाट हुने भएकाले अरुबेला जाने मौका नमिलेपनि हरेक वर्ष दसैंमा घर जाने गरेको उनी बताउँछिन् ।

कोही दसैं मनाउन रमाउँदै घर फर्कंदै गर्दा घर जान सवारी–साधन नपाएको गुनासो गर्दै मन अमीलो बनाउनेहरु पनि उत्तिकै भेटिन्छन् ।

बिहानैदेखि टिकट पाउने आशामा बसपार्कमा बसिरहेकी नुवाकोटकी निकीता पौडेल उभिएरै भएपनि घर जान लागेको बताउँछिन् ।

राजधानी उपत्यकाबाटमात्र होइन, दसैं मनाउनका देशका हरेक क्षेत्रबाट मानिसहरुको ओहोर–दोहोर हुने गरेको छ । विदेशमा भएकाहरु पनि दसैंका लागि घर फर्किरहेका छन् ।

दुई वर्षको साउदी अरबको बसाइँपछि दसैं मनाउन नेपाल आएका स्याङ्जा, वालिङका रमेशबहादुर ढुंगेल पनि टिकट पाउने आशामा बसपार्कमा बसिरहेका थिए ।

दसैं नेपालीहरुको महान पर्व हो । योबेला जति मानिसहरुको ओहोर–दोहोर वर्षभरि कहिल्यै हुने गर्दैन ।ईमेज खबरबाट