हैजा देखिएपछि काठमाडौं र ललिपतुर महानगरद्वारा सडकमा खानेकुरा बेच्न रोक

वैकल्पिक व्यवस्था गरिदिन व्यवसायीको माग

काठमाडौं,असार,१५-काठमाडौं उपत्यकामा हैजा देखिएपछि नागरिक स्वास्थ्यप्रति संवेदनशील हुँदै काठमाडौं र ललितपुर महानगरपालिकाले सडकमा बेचिने खानेकुरामा रोक लगाएका छन् ।

जनप्रतिनिधिमूलक संस्थाले जनताको गरी खाने अधिकार खोसेको भन्दै त्यसको विरोध भएको छ । रोजगारी दिनुपर्ने संस्थाले सरसफाइ सिकाएर सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो रोजगारी नै खोस्नु उचित नभएको व्यापारी बताउँछन् ।

सडक वरिपरि खुला रूपमा बेच्ने खाद्य पदार्थले हैजा लाग्नसक्ने भन्दै ललितपुर महानगरले स्वास्थ्य मापदण्ड पालना नगरी पानीपुरी र चटपटे जस्ता अस्वस्थ्यकर खाद्य पदार्थ बेच्न रोक लगायो । खुला आकाशमुनि बेचिने यस्ता खाद्य सामग्री दुषित भएको महानगरको तर्क छ ।

फोहोर पानीको प्रयोगले हैजा तथा झाडापखालाजन्य रोग लाग्ने भन्दै पानीपुरी र चटपटे बेच्न प्रतिबन्ध लगाइएको महानगरको दाबी छ । पसलभित्र राखेर स्वास्थ्य मापदण्ड पालना गर्दै बेच्न भने रोक नलगाइएको महानगरका प्रहरी प्रमुख सिताराम हाछेतु बताउनुहुन्छ ।

यही व्यवसाय गरेर आफ्नो गुजारा चलाउँदै आएका व्यवसायीहरू भने प्रतिबन्ध लगाएपछि विलखबन्दमा परेका छन् । कतिपय व्यवसायीहरू महानगरको सूचनाबारे जानकार नै छैनन् भने कतिपयले अर्को कामको व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।

निम्न वर्गीय मानिसले हातमुख जोर्ने व्यवसायमा हठात प्रतिबन्ध लगाइँदा दैनिक कमाएर गुजारा चलाउने व्यवसायीका बारे महानगरको सोचाई के छ त ? सर्वसाधारणको स्वास्थ्यलाई महानगरले पहिलो प्राथमिकतामा राखेको भन्दै हाछेतु व्यवस्थित, सफा र स्वास्थ्य मापदण्ड पूरा भएकाहरूलाई नरोकेको बताउनुहुन्छ ।

ललितपुरलगत्तै काठमाडौं महानगरपाकिकाले पनि सडकमा बेचिने खाद्य सामग्रीमा रोक लगाएको छ । अटेर गरे जरिवाना सहित कारवाही गरिने महानगरपालिकाको प्रतिवद्धता छ । व्यवसायीहरू विना सूचना व्यवसायमा अवरोध गरिएकोमा रुष्ट छन् ।