विप्लवसँग रातारात सहमति भएको छैन् : प्रधानमन्त्री ओली

फाईल तस्विरमा : प्रधानमन्त्री ओली!!

काठमाडौं,फागुन,२१-प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पार्नु भएको छ ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्षौदेखिको वार्ताको प्रयास अहिले आएर सफल भएको बताउनुभयो ।

सरकारले विप्लव नेकपासँग रातारात सहमति गर्यो भन्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिनुभएको हो ।

‘केहीदिन अघि मैले रातारात सहमति भन्ने सुनेँ, यो रातारात भएको होइन’, प्रधानमन्त्री ओलीले भने, ‘वर्षौंदेखि हाम्रो वार्ता चलिरहेको थियो। वार्ता गर्दा यत्ति हो हामीले नगरा बजाएर वार्ता गरेनौँ। वार्ता वार्ता झैँ गर्यौँ।’

उहाँले विप्लवसँग ८/१० वर्ष अगाडि भएको भेट र छलफलले अहिलेको वार्तामा विश्वासको वातावरण बनाउने काम गरेको बताउनुभयो ।उहाँले त्यतिबेला केही घण्टा विप्लवसँग नेपालको राजनीतिका सन्दर्भमा कुरा गरेको बताउनुभयो।

‘वार्ताका लागि विश्वासको थालनी ८/१० वर्ष अगाडि विप्लवजी र म भेटर केही घण्टा नेपालको राजनीतिको सन्दर्भमा गम्भीर कुरा गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘मेरो उहाँप्रतिको र उहाँको म प्रतिको विश्वासको जग त्यसै वार्तादेखि मजवुद हुँदै आज यस ठाउँमा आइपुग्यो।’उहाँले बाँकि सहमतिका तीन बुँदा नै काफी भएको बताउनुभयो ।