कोरोना संक्रमणबाट थप एक सैनिकको मृत्यु

फाईल तस्विर !!

काठमाडौं,असोज,१०-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक सैनिकको मृत्यु भएको छ।

बझाङ घर भई हाल काठमाडौँमा कार्यरत एक सैनिक जवानको शुक्रबार वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ।

यही असोज ६ गते छारे रोगको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएका उनको सधन उपचार कक्ष (आईसीयू)मा उपचारकै क्रममा मृत्यु भएको हो।

असोज ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।योसँगै नेपाली सेनामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।

नेपाली सेनामा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ हजार १९७ पुगेको छ भने ५३९ जना निको भइसकेका छन्। हाल सक्रिय संक्रमितको संख्या १ हजार ६५६ रहेको सेनाले जानकारी दिएको छ।