नेपालमा कोरोना संक्रमणबाट ४६७ जनाको मृत्यु ,संक्रमितको संख्या ७१८२१ पुग्यो

काठमाडौं,असोज,१०-नेपालमा शनिवार थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४६७ जनाको मृत्यु पुष्टि भएको छ ।

विगत २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ।

मन्त्रालयका अनुसार होमआईसोलेशनमा १० हजार ५०८ रहेका छन् । आईसीयूमा  २२४ जनाको उपचार भइरहेको छ । यसैगरी भेन्टिलेटरमा २७ जनाको उपचार भइरहेको छ । 

प्रवक्ता गौतमले कुल संक्रमितमध्ये निको हुनेको दर ७३ दशमलव ८ प्रतिशत रहेको बताए ।उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ। 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  विगत २४ घण्टामा थपिएका कोरोना संक्रमितहरु मध्ये ठमाडौं जिल्लाका ५८३ जना, ललितपुर जिल्लामा ७८ जना र भक्तपुर जिल्लाका ६३ जना रहेका छन् ।