राष्ट्रिय सभाबाट तीन विधेयक पारित

काठमाडौं,असार,१७-राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ ।राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक र रेल्वे विधेयक २०७९ विधेयक पारित भएको हो ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

त्यस्तै, मन्त्री खापुङले नै पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

यसैगरी, बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गर्नुभएको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

यसअघि, आजैको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको थियो ।

राष्ट्रिय सभाको आगामी बैठक असार २० गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।