जुलुस गरेर जमिन फिर्ता हुन्न,कूटनीतिक पहल गर्नुपर्छ : देउवा

भारत होस् कि चीन, ऋण लिएर रेल बनाउने काममा समर्थन हुन्न

मकवानपुर,कात्तिक,२६-

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भू–भाग फिर्ता नहुने बताउनु भएको छ ।नेपाली कांग्रेस प्रदेश नम्बर–३ का ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्रमा उहाँले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले कालापानी सदियौंकालबाट नेपालको भू–भाग भएको बताउनुभयो ।कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उहाँले कालापानीको भू–भाग एक इन्च पनि नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सभापति देउवाले ऋण लिएर रेल चढ्ने कुराको कांग्रेसले समर्थन नगर्ने बताउनुभयो । भारत या चीन दुवैले रेलमा अनुदान दिने भएमात्र रेल बन्नसक्ने उनको भनाइ थियो ।

उहाँले भन्नुभयो–‘भारत होस् कि चीन, ऋण लिएर रेल बनाउने काममा समर्थन हुन्न । प्रत्येक वर्ष ब्याज तिर्दै रेल चढ्ने कुरालाई समर्थन छैन ।’नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टीमा आन्तरिक एकता आवश्यक रहेकोसमेत उहाँको भनाइ थियो । पार्टीमा एकता भएको अवस्थामा चुनावमासमेत विजयी हुने उहाँलेले बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले अब नेपालको कम्युनिस्टसँग प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो ।कम्युनिस्टहरुको विचार नै नभएको र बहुदलमा विश्वास गर्ने चरित्रसमेत नरहेको उहाँको आरोप थियो ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय नेताहरु डा. शशांक कोइराला, डा. रामशरण महतलगायतले बोल्नु भएको थियो ।भोलिसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर–३ का ६ जिल्लाका २९० महाधिवेशन प्रतिनिधिहरुको सहभागिता छ । रासस