नेपालद्वारा युएई ४ विकेटले पराजित : दिपेन्द्र ऐरीको उत्कृष्ट इनिंग

काठमाण्डौं,माघ,१८-

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । योसँगै नेपालले सिरिजमा १-१को बराबरी गरेको छ ।

पछिल्लो समय खराब फर्मबाट जुझिरहेका दिपेन्द्र सिंह ऐरीले अविजित ४७ रन बनाएपछि नेपालले दोश्रो टि२० अन्तर्राष्ट्रिय खेलमा संयुक्त अरब इमिरेट्सलाई ४ विकेटले पराजित गरेको छ। आफ्नो डेब्यु खेलमा नेदरल्यान्ड्स बिरुद्द गतबर्ष जुलाई २९ मा लर्ड्स मैदानमा बर्षाले गर्दा ब्याटिंग गर्न नपाएका ऐरीले हिजो भएको खेलमा ४ रन प्रहार गरेका थिए। यसअघि भएको युएईसँगकै एकदिवसीय सिरिज जितमा समेत मात्र ३ खेलमा १६  रन बनाएका थिए।

जितको लागि अन्तिम ओभरमा ७ रन आबश्यक रहेको अवस्थामा पहिलो बलमा पवन सर्राफ १८ रन बनाएर आउट भए। ऐरीले अर्को बलमा जाहुर खानलाई लंग-अनको माथिबाट छक्का प्रहार गर्दै खेललाई बराबरीको अवस्थामा पुर्याए। त्यसपछि अफस्टम्पको बाहिरको बललाई अफसाइडमा प्रहार गर्दै चौका बटुले। उक्त चौका सँगै नेपालले ३ बल अगावै खेल आफ्नो पक्षमा पार्यो।

नेपाल हिजोदेखि सुरु भएको तिन खेलको सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएपछी १-० ले पछाडी परेको थियो।अन्तर्राष्ट्रिय टि२०मा १४ खेलबाट चौथो जित निकालेसँगै नेपालले जारि सिरिजमा १-१ को बराबरी गरेको छ। तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ। उक्त खेलको बिजेताले सिरिजमा कब्जा गर्ने छ।