गड्डाचौकी नाकाबाट तरकारी आयात बढ्दै, ६ महिनामा भित्रियो ७ करोडको तरकारी

Image Not Foundकञ्चनपुर,फाल्गुन,१७-जिल्लाको गड्डाचौकी नाकाबाट ६ महिनामा रू सात करोडभन्दा बढीको तरकारी आयात भएको छ।कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन ।

कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट रू. ७ करोड ६५ लाख ४४ हजारको तरकारी आयात गरिएको छ । 

कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विकले चालू आर्थिक वर्षको हालसम्म रू. ८० करोडको सामान आयात भएको जानकारी दिए।‘गत वर्ष १ अर्ब १२ करोडको सामान यहाँबाट भित्रिएको थियो,’ उनले भने, ‘अहिले आयात घटेको अवस्था छ ।’ 

भन्सार कार्यालयका अनुसार यहाँबाट आलु, प्याज, गोलभेडा, काउली, मुला, गाजर लगायतका तरकारी आयात हुने गरेको छ । 

कूल ६ महिनामा ३ हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ।त्यसैगरी भन्सारबाट रू. ३ करोड ३० लाखको दाल भारतबाट भित्रिएको छ।यहाँबाट मसुर, मास, मटर, चना लगायतको दाल आयात भएको छ ।

कञ्चनपुर भन्सार कार्यालयका कम्प्युटर अपरेटर भुषण गिरीले यहाँबाट चालू आर्थिक वर्षको ६ महिनामा रू. ३ करोड ६८ लाखको फलफूल गड्डाचौकीबाट भित्रिएको छ।गिरीका अनुसार यहाँबाट सबैभन्दा बढी केरा, मेवा, अङ्गुर, स्याउ, सुन्तला, अनार लगायतको फलफूल भारतबाट आयात हुँदै आएको छ ।

त्यसैगरी भारतबाट चामल, दाल लगायतका खाद्यान्नसमेत आयात हुने गर्छ।यहाँबाट रू १ करोड ७८ लाख बराबरको उक्त खाद्य सामग्री भित्रिएको छ।कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भारतबाट तरकारी आयात घटेको बताए।‘स्थानीय उत्पादनका कुनै समस्या देखिएन भने आयात घट्छ,’ अध्यक्ष सोनारले भने, ‘उत्पादन बढ्दा आयातमा कमी आउँछ ।’ 

स्वदेशमै तरकारी खेती बढिरेहको भए पनि व्यावसायिक रूपमा आवद्ध किसानलाई सरकारले अनुदान सहयोग बढाउनुपर्ने बताए । ‘१०÷१५ वर्षपहिले तरकारीमा हामी ८० प्रतिशत आश्रित थियौं,’ उनले भने, ‘अहिले १०÷१५ प्रतिशत मात्रै आयात हुन्छ की भन्ने छ ।’ रासस