एसियन कपको फाइनल आज : जापान र कतार भिड्ने

जापान,माघ,१८-

एएफसी एसियन कपतर्फ आज उपाधिका लागि फाइनलमा एसियन पावर हाउस जापान र विश्व फुटबलमा उदाउने प्रयासमा रहेको कतार भिड्ने छ । 

एसियन कपको उपाधि चारपल्ट जितिसकेको जापान आज पनि उपाधिको दावेदार मानिएको छ । यसअघि चारपल्ट फाइनल पुगेको जापानले चारैपल्ट उपाधि समेत जितेको थियो । उता सन् २०२२ को फिफा विश्वकपको आयोजना अधिकार पाएको कतारको यो पहिलो एसियन कप फाइनल हो ।

फाइनल यात्रा तय गर्ने क्रममा इराक, दक्षिण कोरिया जस्ता दावेदार टोलीलाई हराएको कतारले आज अबुधाबी स्थित जायद स्पोर्टस् सिटी स्टेडियममा जापानलाई कडा चुनौति दिने विश्वास गरिएको छ ।

एसियन कपमा कुल चारपटक भिडेका यी दुई टोलीले त्यसमध्ये समान एक–एक खेलमा जित र दुई खेलमा बराबरी खेलेका छन् । पछिल्लो पटक यी दुई सन् २०११ को एसियन कपमा भिडेका थिए । त्यतिबेला जापानले कतारलाई ३–२ ले हराएको थियो ।आजको फाइनल खेल जापानी समय अनुसार राती ११ बजे हुने छ ,भने नेपाली समयअनुसार बेलुका ७ बजेर ४५ मिनटमा शुरु हुँदैछ ।