रविको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

अब घण्टी बजाउँदै जनतामाझ जाने बाटो खुल्यो : रवि

काठमाडौं,असार,१७-रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। शुक्रबार दल गर्दा गर्दै आयोगले प्रमाणपत्र समेत दिएको छ । उनीहरुले चुनाव चिन्ह गोलाकार भित्रको घन्टी पाएका छन् ।

दल दर्तापछि लामिछानेले अत्यन्तै खुसी भएको र आजदेखि औपचारिक रुपमा पार्टी दर्ता भएको बताउनुभयो ।उहाँले गोलाकार भित्रको घण्टी चुनाव चिन्ह पाएको सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भएको थियो ।

आफूद्वारा प्रस्तावित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’लाई निर्वाचन आयोगले मान्यता दिएपछि अध्यक्ष रवि लामिछानेले खुसी व्यक्त गर्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीको छोटकरी नाम रास्वपा हुने र अंग्रेजीमा ‘नेश्नल इन्डेपेन्डेन्ट पार्टी’ संक्षिप्तमा ‘एनआइपी’ हुने भएको छ ।  पार्टीको नामका विषयमा पछि कानुनी प्रक्रिया अघि बढे सोहीअनुसार आफू पनि प्रक्रियामा अघि बढ्ने लामिछानेले बताउनुभयो ।

आयोगको गरेको निर्णय पार्टीका प्रवक्ता डा.मुकुल ढकालले वाचन गरेर सुनाउनु भएको थियो। जसमा भनिएको छ– ‘नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७३, प्रचलित संसदीय कानुन बमोजिम पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी २०७३ को दफा ४ र ५ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी, संक्षिप्तमा रास्वपा र अंग्रेजीमा ‘नेश्नल इन्डेपेन्डेन्ट पार्टी’ संक्षिप्तमा ‘एनआइपी’ नामक राजनीतिक दल दर्ता गरी आयोगले दल दर्ताको कितावमा अभिलेखीकरण गर्ने निर्णय भएको छ ।’

लामिछानेलेआफ्नो दल दर्ता भइसकेपछि स्वतन्त्र अभियानसहित चुनावी तयारीमा लागेका सबैलाई स्वागत गर्न तयार रहेको बताए। 

‘हामीसँग मिल्न चहाने सबै स्वतन्त्र राजनीतिक अभियन्ताहरुलाई स्वागत गर्न तयार छौँ। अब हामी त्यही अनुसार वार्ता पनि थाल्छौँ’, उनले भने, ‘विचार मिल्ने व्यक्ति र समूहसँग संवादसँगै अब जनताको घर दैलोमा पुगेर चुनावी तयारी थाल्छौँ।’

उहाँले आफ्नो पार्टीको केन्द्रीय कमिटीबारे केही खुलाएनन्। ‘त्यसबारे अझै केही बोलिहाल्न हतार हुन्छ’, उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगमा पनि प्रमाणीकरण चलिरहेकाले केही दिनमा हामी हाम्रो कमिटीबारे विस्तृतमा जानकारी दिने बताउनुभयो ।