प्रधानमन्त्री कप थ्री नेसन्स कपमा आज नेपाल र लाओस भिड्ने

फाईल तस्विर !!

काठमाडौं,चैत्र,८-प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल बुधबारदेखि काठमाडौंमा सुरू हुँदैछ।चैत १८ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, लाओस र भुटान सहभागि छन्।प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपाल र लाओस भिड्नेछन्।यो खेल साँझ ६ बजे हुनेछ ।

घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ।लाओस पनि जित निकाल्ने योजनासहित मैदान उत्रनेछ।

नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जित्दा ट्राइब्रेकरमा किरण नायक बनेका थिए ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल बाहेक समुह चरणका खेललाई फिफाले अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलको मान्यता दिएको छ ।

यो प्रतियोगिता नेपाली राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसका लागि पहिले परीक्षण हुनेछ । इटालियन प्रशिक्षक एनेसले मंगलबारमात्रै २३ सदस्यीय टिम घोषणा गर्नुभएको छ । नेपाली टिममा यसपटक सात जना नयाँ अनुहार समेटिएका छन् ।

‘ए’ डिभिजन लिगमा पाँचौं चरणसम्म गरेको प्रदर्शनका आधारमा नयाँ खेलाडी राष्ट्रिय टिममा समावेश भएका हुन । गोलकिपर अभिषेक बराल, डिफेण्डरहरु सनिस श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डहरु मणिकुमार लामा र नवीन लामा तथा फरर्वार्ड सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी पहिलोपल्ट टिममा परेका छन् ।

राष्ट्रिय टिमका नियमित खेलाडीहरु विदेश पलायन भएपछि नेपाली टिमको सन्तुलन नै बिग्रेको छ ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।