मिथिलामा चैती छठ पर्व आजबाट सुरू

काठमाडौं,चैत्र,११-मिथिलाञ्चलबासीको महान् पर्व वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि शनिबारबाट सुरू भएको छ ।

चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत पहिलो दिन शनिबार बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व सुरू गर्दैछन् ।

यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने दोस्रो दिन अर्थात पञ्चमीका दिन ‘खरना पर्व’ मनाइन्छ।खरनाको अवसरमा ब्रतालुहरु निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने खाने चलन छ।प्रसादमा खीर ,केरा, दुध एवम् मिठा राखेर बनाइएका विभिन्न परिकारसहित फलफुल चढाइने गरिन्छ ।

तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अर्घ दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ । अर्घमा मुला, उखु, भण्टा, मिठाको ठकुवा, भुसवा ,केरा, नरिवललागायतका सामग्रीहरु चढाउने परम्परा छ ।

सन्ध्या अर्घपछि रातभरि ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन हुन्छ । यो विधिलाई ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ ।

चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने, चर्म रोग निको हुने सन्तान हुने, र परिवारमा खुसीयालीसंगै प्रसन्नता प्राप्त हुने विश्वास रहेको छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो।शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले छठ पर्व मनाइने गरिन्छ ।