आज होली पर्व पहाडी भेगमा उल्लासका साथ मनाइँदै

तराईमा भोली मनाईने

काठमाडौं,फागुन,२६-काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । होली पर्वका अवसरमा विभिन्न संघसंगठनहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ ।

विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई÷तीन दिनसम्म होली मनाउने चलन छ ।

यस पर्वका अवसरमा आज साँझ काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंंडिखेलमा लगी जलाउँछन् । जसलाई होलीका दहन भनिन्छ ।

चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लैजाने गरिन्छ । अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रंगीचंगी ध्वजापताका साथ सिंगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।