राष्ट्रपतिद्धारा संविधान संशोधन विधेयक प्रमाणीकरण नयाँ नक्साले पायो संवैधानिक मान्यता

फाईल तस्विरमा : नेपालको नयाॅं नक्सा

काठमाडौं,असार,४-नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको हो ।

निशान छापमा लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपति समक्ष पेश गरिएको थियो ।

फाईल तस्विर : राष्ट्रपति विद्या भण्डारी

प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय सभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो ।राष्ट्रिय सभाबाट पारित भई पुन:प्रतिनिधि सभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाउनु भएको थियो ।

सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषदबाट पास गरे पछि जेठ ७ गते भमिसुधारमन्त्री पद्यमा अर्यालले नयाँ नक्सा सार्वजनिक गर्नु भएको थियो ।