मध्यपश्चिम क्रिकेट क्लबले माघको पहिलो सातादेखी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता गर्ने

बाँके,पुष,१४- मध्यपश्चिम क्रिकेट क्लबले आगामी माघको पहिलो सातादेखी अन्तर स्कुल जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता संचालन गर्ने भएको छ।

प्रतियोगितामा जिल्लाका सबै विद्यालयहरुको सक्रिय सहभागीताका लागि प्याब्सन, एनप्याब्सन तथा क्रिसा लगाएतका शिक्षासँग सम्बन्धित निकायसँग आज शुक्रबार अन्तरक्रिया गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रिसा बाँकेका अध्यक्ष दिनेश सिग्देलले विद्यालय स्तरबाटै खेलाडी उत्पादनकालागी प्रयास गरेको
भन्दै क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए । 

उहाँले विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन यस प्रतियोगिताले निकै महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा आश्वस्त रहेको बताउनुभयो ।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै एनप्याब्सन बाँकेका प्रतिनिधी बेगप्रकाश चन्दले स्थानिय स्तरबाटै खेलाडी उत्पादनकालागी खेल प्रतियोगिताहरुको महत्पूर्ण भुमिका रहेको बताउनु भएको थिय । उहाँले मध्यपश्चिम क्रिकेट क्लबले क्षेत्रमै क्रिकेट खेलको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको भन्दै आभार समेत ब्यक्त गर्नु भएको थियो ।

बिगतमा समेत जिल्ला तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरु संचालन गर्दै आएको क्लबले बुम रेमिटको मुख्य प्रायोजनमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता संचालन गर्न गईरहेको क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिनुभयो ।

गत वर्ष प्रथम अन्तर स्कुल क्रिकेट रनिङ्शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको क्लबले दोस्रो संस्करणको रुपमा प्रतियोगिता संचालन गर्न गईरहेको हो ।

प्रतियोगितामा जिल्लास्थित १६ वटा टिमलाई सहभागी गराईन बताईएको छ । प्रतियोगिताका साथसाथै महिलाहरुलाई समेत क्रिकेट खेलप्रती जागरुक गराउने उद्धेश्यले विद्यालयहरुमा प्रशिक्षक क्याम्प संचालन गर्ने तयारी गरिरहेको प्रतियोगिता निर्देशक तथा नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय कप्तान लेखबहादुर क्षेत्रीले बताउनुभयो ।

क्रिकेट खेलप्रतीको रुचीलाई मध्यनजर गर्दै यहि पुष २१ गते देखी जिल्लास्थित विद्यालयका खेल शिक्षकहरुलाई एक दिने अभिमुखिकरण तालिम समेत सन्चालन गरिने क्लबका उपाध्यक्ष संगिन शर्माले जानकारी दिनुभयो ।