ओखलढुंगाको रुम्जाटारमा वृहत सांसद सम्मान कार्यक्रम सम्पन्न

सिर्जना बर्देवा/ 
ओखलढुंगा, पौष, १४-
ओखलढुंगाको रुम्जाटारमा आज वृहत सांसद सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । संयुक्त वामगठबन्धको आयोजनामा प्रदेश र प्रतिनिधिसभा सदस्य सांसदहरुलाई सम्मान तथा स्वागत गरिएकोे हो ।

मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी सांसदहरुको सम्मानमा वृहत कार्यक्रम आयोजना गरिएको वामगठबन्धका नेता एमाले जिल्ला अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेल, नेताहरु शेरधन राई,पार्वत गुरुङ,यज्ञराज सुनुवार,अम्बिरबाबु गुरुङ,मोहन खड्का सहितका सांसद र राज्यका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । एमाले महासचिव ईश्वर पोख्रेलले वाम गठबन्धनको पार्टी एकतालाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

आज शुक्रबार यहाँको रुम्जाटारमा आयोजित विजयसभालाई सम्बोधन गर्दै नेता पोख्रेलले पार्टी एकता हुन नदिने षड्यन्त्र भइरहेको बताए । पार्टी एकतासँगै सरकार सञ्चालन गर्ने कुरामा पछि नहट्ने उनको भनाइ छ ।पोख्रेलले वाम गठबन्धनको जितसँगै देश नयाँ बाटोमा हिँडिसकेकोले गन्तव्यमा र्पुयाएरै छाड्ने बताए ।

चुनावी अभियानको क्रममा वाम गठबन्धनका उम्मेदवारहरुले गरेको वाचा निर्वा्चित प्रतिनिधिले आफ्नो कार्यकालमा पूरा गर्ने उनले बताए । कार्यक्रम ओखलढुंगाको विकासमा केन्द्रित रहेकोे सांसद अम्बिरबाबु गुरुङले बताउनु भयो । कार्यक्रममा प्रतिनीधि सभा सदस्य सुनुवार लगायतका माननीयहरुले जिल्लाका बिकासमा साझा प्रतिबद्धता जनाएका छन् ।