सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने सम्भावना

काठमाडौं,साउन,१९-मन्त्रिपरिषदको बैठक आज बिहीबार दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।

कुनै राजनीतिक घटना क्रम नभए सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दैछ ।

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बुधबार भएको छलफलमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति भएकाले सरकारले बिहीबार बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने संभावना बढेको हो ।

तर,निर्वाचन घोषणापछि राजजीतिक नियुक्ति तथा सरूवा बढुवाहरू रोकिने भएकाले ती कार्य पूरा गर्नका लागि मिति घोषणामा बिलम्वन हुनसक्ने आशंका पनि गरिएको छ ।

निर्वाचन आयोगले अहिले नै निर्वाचनको मिति मंसिर ४ का लागि घोषणा गर्दा पनि कतिपय प्रक्रियाहरू छोट्याउनु पर्ने बताएकाले सरकारमाथि निर्वाचनको मिति घोषणाको दबाब पनि उत्तिकै छ ।

निर्वाचन आयोगका पदाधिकारीले गत असार २२ मा प्रधानमन्त्री देउवा र मन्त्रीहरूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन गर्न सुझाव दिएका थिए ।ईमेजबाट