काठमाडौंको सवारी आवागमन अस्तव्यस्त, यी स्थानको यात्रा गर्दै नगर्नुस्

फाईल तस्विर !!

काठमाडौं,माघ,९-प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहको नेकपाले काठमाडौंमा गर्न लागेको विरोध सभाका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ ।

विरोध सभा र प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त हुने भएपछि महानगरीय ट्राफिक प्रहरीले अहिले सवारी साधनलाई डाइभर्सन गरिरहेको छ ।

काठमाडौं उपत्यकाको तिनकुने, गौशाला, सिनामंगल, नारायणगोपालचोक, गोंगबु, बालाजु, कलंकी, बल्खु र सातदोबाटोबाट रिङरोडभित्र आउने ठूला तथा भाडाका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ ।

त्यस्तै पद्मोदयमोड, पुतलीसडक, कमलादी मोड, महेन्द्र शालिक, त्रिपुरेश्वर, सिंहदरबार, केशरमहल, संग्रहालय दक्षिणगेटबाट रत्नपार्कतर्फ र खुल्लामञ्चतर्फ जाने सम्पूर्ण सवारी साधनलाई डाइभर्सन गरीएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

माइतीघरबाट सिंहदरबारतर्फ आउने र लोत्सेचोकबाट कमलपोखरी डिल्लीबजार हुँदै पुतलीसडकतर्फ आउने सवारीलाई पनि डाइभर्सन गरिएको छ । विभिन्न स्थानबाट रत्नपार्कको लागि र्याली भइरहेकाले सवारी साधनलाई डाइभर्सन गरिएको हो ।

डाइभर्सनका कारण यतिबेला कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, जयनेपाल, लोत्सेचोक, डिल्लीबजार, मैतिदेवी, कमलादीमोड, गल्कोपाखा र केशरमहल चोकमा सवारी साधनको चाप छ ।

रिङरोड भित्रका मुख्य चोक भएर चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्गको प्रयोग गरीयात्रा गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।