संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं,मंसिर,२८-आज आईतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा नआउने भएपछि बैठक रोक्नुपरेको हो । बैठक आज बिहान ९ बजेका लागि तय गरिएको थियो ।

स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको थियो ।

पार्टीभित्रको विवाद यथावत् रहेको अवस्थामा बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई नेकपाभित्रैबाट पनि दबाब थियो ।

त्यस्तै कांग्रेस सभापति देउवालाई पनि बैठकमा नजान पार्टीभित्र दबाब थियो । भोलि सरकारविरूद्ध देशव्यापी विरोध प्रदर्शन राखिएकाले परिषद्को बैठकमा सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने कांग्रेस नेताहरुको तर्क छ ।

यसअघि पनि देउवा अनुपस्थित हुँदा संवैधानिक परिषद्को बैठक प्रभावित हुँदै आएको थियो । परिषद्को बैठक नबस्दा ४५ भन्दा बढी संवैधानिक पदहरू पूर्ति हुन सकेको छैन ।