देशभरका दुईसय कलेजमा आज स्ववियु निर्बाचन हुँदै, ठूला क्याम्पसमा भने तालाबन्दी

काठमाडौं, फागुन १८- विद्यार्थी संगठनहरुकै विवादका कारण आजका लागि तोकिएको स्ववियु निर्वाचन जम्मा ४० प्रतिशत कलेजमा मात्र हुँदैछ ।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका करीब दुई सय कलेजमा मात्र चुनाव हुनेछ भने बाँकी कलेजमा चुनाव नहुने भएको हो ।तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले ती क्याम्पसमा मात्र आज मतदान गरिनेछ ।

जसअनुसार ६० वटा आंगिकमध्ये विवाद नभएका २४ वटा आंगिक र बाँकी सम्बन्धन प्राप्त क्याम्पसमा मतदान हुनेछ ।सत्तारूढ कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षी एमालेनिकट अनेरास्ववियु तथा मधेसी विद्यार्थी संगठनलगायतले विभिन्न कलेजमा तालाबन्दी गरेकाले ६० प्रतिशत क्याम्पसमा चुनाव नहुने भएको हो ।

विद्यार्थी संगठनकै मागमा फागुन १४ मा गर्ने भनिएको स्ववियु चुनावको मिति चार दिनपछि सारेपनि विद्यार्थी संगठनहरु नै निर्वाचनका लागि बाधक बनेका हुन् ।मूख्य गरी ठूला मानिएका राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्श, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वतीलगायत क्याम्पसमा तालाबन्दी गरिएको छ ।

त्रिविअन्तर्गत ६० आंगिक र सम्बन्धनका एक हजार ८४ क्याम्पस छन् ।काठमाडौं उपत्यकाका सानोठिमी क्याम्पस र भक्तपुर वहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ र थापाथली इन्जिनिययिरङ, जनप्रशासन क्याम्पस, आइओएम र नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, कृषि क्याम्पसमा चुनाव हुँदैछ । शंकरदेव क्याम्पसले भने आउँदो २४ गते गर्नेगरी स्ववियुको मिति तोकेको छ । साभार ईमेजखबरबाट