निर्बाचन आरसंहिता लागू, कसले पालना गर्नुपर्छ आचारसंहिता

काठमाडौं, फागुन १८ –आजबाट स्थानीय तह निर्वाचनसम्बन्धि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको हो ।आयोगको मंगलबार बसेको पदाधिकारी बैठकले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ जारी गरेको जनाएको हो ।

आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय र कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई आचारसंहिता लाग्नेछ ।

यसैगरी निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि आचारसंहिता लाग्नेछ ।उम्मेदवारको हकमा मनोनयन दर्ता भएको मिति अर्थात आगामी वैशाख १६ देखि आचारसंहिता लागू हुने जनाइएको छ ।

आयोगले गृह मन्त्रालयबाट तयार पारिएको स्थानीय तहको निर्वाचन सुरक्षा योजनाबारे पनि छलफल गरेको जनाएको छ ।गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सुरक्षा योजना पेश गर्दै केन्द्र, क्षेत्र, जिल्लामा समेत सबै सुरक्षा निकायबीच समन्वय गरी जिम्मेवारी पूरा गरिने बताउनुाभयो ।प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहमा कार्यरत सुरक्षा संयन्त्रलाई साधन स्रोत सम्पन्न बनाउन, जिल्लास्तरमा प्रहरी प्रशासनलाई निर्वाचन आचारसंहिता पालना गराउन अविलम्ब

निर्देशन पठाउन र स्थानीय तहको निर्वाचनमा महिला सहभागिता उत्साहजनक हुने भएकाले यसलाई समेत ध्यान दिई सुरक्षा योजना बनाउन निर्देशन दिनुभएको थियो ।कार्यक्रममा चारवटै सुरक्षा निकायका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।साभार ईमेजखबरबाट