१३ औं सागको औपचारिक उद्घाटन आज

४० बर्षपछि नेपालले तेस्रो पटक सागको आयोजना गर्दै

काठमाडौं,मंसिर,१५-

फोटो साभार खेलपाटी बाट

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन आज (आईतबार) हुदैछ । दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव नेपालमा आज सुरु हुन लागेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।उद्घाटन सत्र साँझ ५ बजेर १० मिनेटमा सुरु हुनेछ । उद्घाटन कार्यक्रम करिब ३ घण्टा चल्नेछ ।

 

उद्घाटन सत्रमा सहभागी सातै देशको मार्चपास सहित नेपालको कला, संस्कृति र पहिचान झल्कने सांस्कृतिक कार्यक्रम राखिएको छ ।उद्घाटन सत्रमा झण्डै ७ हजार मानिस सहभागी गराउने कार्यक्रम रहेको समारोह समितिले जनाएको छ ।

प्रतियोगिताका खेलहरु काठमाडौं सहित पोखरा र जनकपुरमा सञ्चालन हुनेछन् । जनकपुरमा कुस्ती, पोखरामा ८ खेल र काठमाडौंमा १९ खेलहरु सञ्चालन हुनेछन् । १३ औ सागमा २७ खेल समावेश गर्ने भनिएपनि प्याराग्लाईडिङको सहभागी संख्या नपुगेपछि २६ खेल सञ्चालन गर्न लागिएको हो ।

सागमा ७ देशका ३ हजार बढी खेलाडीले ३ सय १७ स्वर्ण ३ सय १७ रजत र ४ सय ८१ कास्यका लागि प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशका २ हजार बढी अफिसियल खटिने सागको प्राविधिक समितिले जनाएको छ ।

सन् १९८४ मा नेपालबाट सुरु भएको साग झण्डै ४० बर्षपछि नेपालले तेस्रो पटक आयोजना गर्दैछ । नेपालले सन् १९९९ मा दोस्रो पटक सागको आयोजना गरेको थियो ।

दुई पटक सरेको मिति

सन् २०१६ मा भारतको गुहाटी र सिलोङमा भएको सागबाट नेपालले १३ औ साग आयोजना गर्ने झण्डा लिएर आएको थियो । तत्कालिन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले साग आयोजनाको झण्डा लिएका थिए ।

प्रत्येक दुई बर्षमा आयोजना हुनुपर्ने साग नेपालले सन् २०१८ मै आयोजना गर्नुपर्ने हो । तर सरकारको वेवास्ताका कारण निर्धारित मितिमा साग आयोजना हुन सकेन ।

लगत्तै दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औ संस्करणको साग सन् २०१९ को ९ देखि १८ मार्चसम्म आयोजना गर्ने निर्णय गर्यो । तर भौतिक पुर्वाधारको काम अघि बढ्न नसक्दा दोस्रो पटक तोएिको मितिमा समेत साग आयोजना नहुने भयो ।

तर सरकारले पुर्वाधार निर्माण समयमा गर्ने बाचा सहित सागको ओलम्पिक काउन्सिललाई ६ महिना प्रतियोगिताको मिति सार्न प्रस्ताव गरेको थियो । थाईल्याण्डको बैंककमा बसेको ओलम्पिक काउन्सिलको बैठकले अन्तिम पटकलाई भन्दै सागको नयाँ मिति डिसेम्बर १ देखि १० सम्म तोकेको थियो । साभार : खेलपाटी बाट