आलोचना र गालीलाई ‘ब्राण्ड’ बनाउन दुर्गा प्रसाईंबाट सिक्नुहोस्-प्रधानमन्त्री ओली

काठमाडौं,फागुन,१८-प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र गालीलाई ‘ब्राण्ड’ बनाउन दुर्गा प्रसाईंबाट सिक्नुपर्ने बताउनुभयो ।

झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले गाली र आलोचनाबाट हत्होत्साही नभएर त्यसबाट शक्ति आर्जन गरी सकरात्मक कामतर्फ अघि बढ्नुपर्ने बताउनुभयो ।

व्यवसायी एवं अस्पतालका सञ्चालक प्रसाईंप्रति मार्सी चामलको विषयलाई लिएर आलोचना गर्दा उहाँले ‘मार्सी बियर’ नामक ब्राण्ड बनाएको ओलीले बताउनुभयो ।

‘उहाँलाई आलोचना गर्दा उहाँले ब्राण्ड बनाइदिनुभयो,’ ओलीले भन्नुभयो, ‘माफिया भनेछन् माफिया ह्विस्की बनाइदिनुभयो, डन भन्नुभयो डन इनर्जी ड्रिङ्क्स बनाइदिनुभयो ।’

ओलीले आलोचनाबाट नडराइ, हत्होत्साही नभइ अगाडि बढेकोमा प्रसाईंलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले आफ्नो पनि खुट्टा तान्ने काम धेरैले गरिरहेको बताउँदै ‘खुट्टा तान्ने’ पनि एउटा ब्राण्ड बन्ने रैछ भन्दै व्यङ्ग गर्नुभयो ।

बि एण्ड सी अस्पताल व्यापारी दुर्गा प्रसाईंले सञ्चालन गरेको अस्पताल हो।प्रसाईंसँग प्रधानमन्त्री ओलीको अत्यन्तै घनिष्ठ सम्बन्ध छ । प्रसाईंले ओलीलाई ‘हजुरबुवा’ भनेर सम्बोधन गर्नुहुन्छ ।