प्रधानमन्त्री दाहालद्वारा चुनवाङबाट गुरिल्ला ट्रेलको उद्घाटन

रुकुम,पुस ९-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला  ट्रेल एवं जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्नु भएको छ । आज रुकुमको चुनवाङमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले गुरिल्ला ट्रेलको उद्घाटन गर्नु भएको हो । जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर विश्वस्तरमै चर्चा बटुलेको रुकुमको चुनवाङ बैठकको स्मरणमा गुरिल्ला ट्रेल र युद्ध संग्रहालय स्थापना गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘भर्खरै जस्तो लाग्छ, १२ वर्ष बितिसकेछ । यही घरमा केन्द्रीय समितिको पूर्ण बैठक बसेको थियो । चुनवाङ बैठकका नामले परिचित त्यो बैठक माओवादी पार्टीको जीवनमा मात्रै नभएर देशमै उथलपुथल ल्याउने युगान्तकारी बैठक बन्यो । चुनवाङ बैठकको निर्णयबाट नै हामी १२ बूंदे समझदारीमा पुग्यौं, जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्यौं । आज १२ वर्षपछि जनमुक्ति सेनाले पैदल यात्रा गरेको स्मरणमा गुरिल्ला ट्रेल र जनयुद्धको ऐतिहासिक झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्न पाउँदा हर्षित् र भावुक पनि भएको छु ।

चुनवाङ बैठकले नेपालको राजनीतिमा गुणात्मक परिवर्तन ल्याएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो । केन्द्रीय कार्यालयका बरिष्ठ नेता साथीहरु पनि सँगै हुनुहुन्छ, आज मलाई पूनर्मिलनको अनुभूति भएको छ । चुनवाङ बैठक नै त्यस्तो बैठक हो, जसले नेपालको राजनीतिलाई नै मोडिदियो । तर, राजनीतिमा आएको परिवर्तन अनुसार तपाईहरुको जीवनमा अझै गुणात्मक परिवर्तन आउन सकेको छैन । सबै परिवर्तन एकैचोटी सम्भव हुँदैन । तर, परिवर्तनको युगान्तकारी नेतृत् वगर्ने यस ठाउँको मुहार फेर्नैपर्छ । सरकार त्यसका लागि गम्भीर र जिम्मेवार भएर लाग्नेछ ।’

कार्यक्रममा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षामान पुन ‘अनन्त’, गणेशमान पुन, जोखबहादुर महरा लगायतको उपस्थिति थियो । गुरिल्ला ट्रेलका लागि जिल्ला विकास समिति रुकुमले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको सो अवसरमा जानकारी दिइयो । पोखरादेखि बेनी हुँदै रोल्पा र रुकुमका रमणीय गाउँहरु पार गर्दै चुनवाङ आइपुग्न १५ दिनको समय लाग्नेछ । यसैगरी चुनवाङदेखि घोराहीसम्म पद यात्रा गर्न सकिने पूर्वमन्त्री गणेशमान पुनले जानकारी दिनुभयो ।