बिदेशबाट श्रमिकले ल्याएका व्यक्तिगत सामानमा लाग्ने कर सच्याउन मन्त्री विष्टलाई रेखाको आग्रह

काठमाण्डौं,फाल्गुन,१-

एक-दुई वर्ष श्रम गरेर फर्केका नेपालीलाई एयरपोर्टमा भन्सारका नाममा उनीहरूले ल्याएका सामानमाथि रूखो व्यवहार नगर्न अभिनेत्री रेखा थापाले नेपाल सरकारको ध्यानाकर्षण गराएकी छन्।

अभिनेत्री थापाले मंगलबार रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई भेटेर सोसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएकी हुन्।उनले बुझाएको पत्रमा एकदेखि दुई वर्षसम्म श्रम गरि फर्किएका नेपालीको झिटीगुन्टमा सरकारले कर कानुन कार्यान्वयन गराउने काम मानविय नभएको उल्लेख गरेकी छन्।

‘एउटा मजदुरको सामाजिक जीवनसँग सरोकार राख्ने सामान्य उपभोगका सामाग्री समेत मदिरा वा अन्य विलासिताका दर्जामा राखेर जफत गरिनुले सरकार र उक्त नियमबारे जनमानसमा सरकारको संवेदनशिलता र सहिष्णुता नभएको भान पर्न गएको छ’, ध्यानाकर्षणपत्रमा उनले लेखेकी छन्।

मन्त्री विष्टसँगको भेटको बारेमा रेखाले आफ्नो फेसबुकमा मन्त्री विष्टले सकारात्मकरूपमा लिएको र सोको लागि आजैबाट उनीहरूका लागि सहज हुने अवस्था श्रृजना गर्न पहल गरिसकेको उल्लेख गरेकी छन्।

केहि समयदेखी सरकारले विदेशबाट फर्किने नेपालीका झिटीगुण्टामा कडाइ गर्न थालेपछि यसको विरोध हुँदै आएको छ। रेखाले पनि सामाजिक संजालमार्फत यसको विरोध जनाएकी थिइन।

आजको भेटका बारेमा सेतोपाटीसँग बोल्दै अभिनेत्री थापाले आफ्नो मागमा मन्त्री विष्ट सकारात्मक रहेको बताइन। उनले आफू नेपाली श्रमिकहरूको क्याम्पमा पाएको दु:ख र उनीहरूलाई देशकै एयरपोर्टमा गरिने नराम्रो व्यवहारको प्रत्यक्षदर्शी भएकाले यसका लागि सम्बन्धित निकायको ध्यानआकार्षण गरेको बताइन।

‘विदेशमा दु:ख गरेर परिवारका लागि २-३ थान मोबाइल र अन्य सामान ल्याउँदा सरकारले पछिल्लो समय देखाएको रवैया कानुनत: ठीक देखिएपनि व्यावहारिक रूपमा ठीक लागेन।

यसमा परिवर्तन आवश्यक छ’ रेखाले भनिन्, ‘यसलाई परिवर्तन गर्न मैले मन्त्री विष्टलाई आग्रह गरेको छु। उहाँ यसमा गम्भिर हुनुभएको छ र यसको पहल सुरू गरिसक्नुभएको छ। छिट्टै यसको सम्बोधन हुने मेरो विश्वास छ। यसैगरी रेखाले यसबारेमा सरकारको कदममाथि निरन्तर ध्यान रहने पनि बताएकी छन्।साभार सेतोपाटीबाट