तीन दलको वैठक निष्कर्ष विहिन

काठमाडौ ,असार, २७-

संविधान संशोधनका लागि एमालेलाई साथ लिने सत्तारुढ काँग्रेस र माओवादी केन्द्रको प्रयास मंगलबार पनि असफल भएको छ ।प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि सघाउन गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष एमालेले ठाडै अस्विकार गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको प्रमुख तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधनको विषयमा खुला छलफल गर्न सकिने पार्टीको अडान समेत राख्नु भयो ।

सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधनका लागि खुला छलफल गर्न आफनो पार्टी तयार रहेको कुरा बैठकमा राखिएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । उहाँले नेपालको राष्ट्रिहित, सामाजिक सदभाव र समग्र राष्ट्रिय एकतामाथि आघात हुने गरी सरकारले ल्याएको संविधान संशोधन गर्न नसकिने पूर्ववत अडानबाट पछि हटने अवस्था नरहेको पनि स्पष्ट पार्नु भयो ।

बैठकमा सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानलाई मतदानको प्रक्रियामा लैजान भने एमाले सहमत हुनुपर्ने धारणा राख्नु भएको थियो । सत्तारुढ काँग्रेस नेता विमलेन्द्र निधि र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउने राजनीतिक वातावरण बनाउन पनि संविधान संशोधन प्रस्तावमा एमालेलाई साथ दिन पुनः आग्रह गर्नु परेको स्पष्ट पार्नु भयो ।

बैठकमा प्रमुख प्रतिपक्ष एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न पनि सत्तारुढ दलहरुको ध्यानाकर्षण गराएका थिए । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने भएकाले आयोग गठन गर्न ढिलाई नगर्न सरकारलाई सुझाव दिइएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनु भयो ।

एमालेले सरकारलाई संविधान संशोधन नभई निर्वाचनमा केन्द्रित हुन आग्रह गर्दै आएको छ । यता, सत्तारुढ काँग्रेस, माओवादी केन्द्रले भने राष्ट्रिय जनता पार्टीलाई पनि निर्वाचनमा जाने राजनीतिक वातावरण बनाउन संविधान संशोधन गर्नैपर्ने तर्क गर्दै आएको छ ।