नेपाल भित्रिँदै अमेरिकी राइफल

काठमाडौं,कार्तीक,६-

नेपाली सेनाले करिब पाँच हजार थान अमेरिकी राइफल एम–१६ हतियार भित्र्याउने भएको छ। सेनाले यस वर्षका लागि झण्डै एक अर्ब रुपैयाँको अमेरिकी खजाना खरिद गर्न लागेको हो।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाका लागि यस्तो राइफल खरिद गर्न लागेको सेनाले जनाएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व शान्तिमा खटिने सेनालाई आवश्यक पर्ने सामाग्रीको विधिसम्मत खरिदमा सरकारले सेनालाई सहयोग गर्ने बताएका थिए। खरिद प्रक्रिया भने उनी रक्षामन्त्री हुनुअगावै अघि बढेको थियो।

‘हतियार खरिदको विषय जीटूजी नै हुने गरी प्रक्रिया अघि बढेको होला,’ सैन्य प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘पछिल्लो जानकारी बुझ्नै पर्छ। हतियार खरिद हुने विषय सरकार–सरकारबीच नै सम्झौता हुने गरेको छ।’

शान्ति सेनामा जानेका लागि आवश्यक परेकाले हतियार जतिसक्दो छिटो नेपाल आइपुग्नुपर्ने माग सेनाको छ। विश्व शान्तिमा खटिने पाचौं ठूलो संख्यामा नेपाली सेना पर्छ। अहिले विश्वका विभिन्न मुलुकमा ५ हजार ४३ नेपाली सेना शान्तिका लागि राष्ट्रसंघीय छातामा कार्यरत छन्।

अमेरिकी डलरको भाउ बढेको कारण हतियारको मूल्यभार बढ्न सक्ने सैनिक स्रोत जनायो। पूरै रकम आरम्भमा तिर्न सकेको भए मूल्य बढे पनि समस्या हुने थिएन। तर अब खरिद रकमको भार बढेको छ। डलरमा सम्झौता हुने हुनाले त्यसको मूल्य बढ्नेबित्तिकै भार बढ्ने निश्चित छ।

अमेरिकाले किन गर्‍यो ढिलाइ ?

हतियार खरिद प्रक्रिया टुंगो लाग्न करिब एक वर्ष लाग्यो। अन्तिम सम्झौता हुन अझै बाँकी रहेको रक्षा अधिकारीले बताए। दुवै मुलुकका राजदूत साक्षी बस्ने गरी हतियार खरिद सम्झौताको तयारी हुँदैछ।

सरकारी तवरले खरिद गर्न अमेरिकाले नेपाली सेनाबाट पूरा रकम माग गरेपछि यसमा ढिलाइ भएको थियो। ‘हतियारको पूरा रकम नदिएसम्म अमेरिकी सरकारले हतियार बनाउने कम्पनीलाई निर्माणका लागि आदेश गर्न नसक्ने बताएको थियो,’ सैन्य स्रोतले भन्यो, ‘सरकारलाई नै विश्वास नगर्ने भए खरिद प्रक्रिया नै रोक्ने भएपछि अमेरिकाले बैना रकम लिएर अर्डर लिने भएको हो।’

सेनाले एक अर्ब रुपैयाँ पनि नेपाल सरकारसँग विश्वास नगरेको भन्दै अमेरिकासँग आश्चर्य व्यक्त गरेको थियो। अमेरिकाले त्यसपछि आफ्नो कानुनको व्याख्या गरेको थियो। नेपाली सेनाले पनि नेपाली कानुनको व्याख्या गरेको परराष्ट्र अधिकारीले जानकारी दिए।

साभार अन्नपुर्णबाट