गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान

काठमाडौ,असार,२७-

गृहमन्त्री जनार्दन शर्मा श्रीलंका प्रस्थान गर्नुभएको छ । गृहमन्त्री शर्मा सार्क राष्ट्रका मन्त्रीस्तरीय बैठकमा भाग लिन मंगलबार श्रीलंका प्रस्थान गर्नु भएको हो ।

श्रीलंकामा बुधबार र विहिबार सार्क राष्ट्रहरुको मन्त्रीस्तरीय, सचिव स्तरीय र अध्यागमन अधिकारीहरुको बैठक हुँदैछ । श्रीलंका प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले बैठकमा सार्क स्तरीय नागरिकहरुको आवागमनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल हुने जानकारी दिनु भयो ।

उहाँले बैठकमा सार्क राष्ट्रहरुबीच आतंकवाद नियन्त्रण, लागु औषध कारोबार नियन्त्रण, सीमा अपराध नियन्त्रणका विषयमा पनि छलफल हुने एजेन्डा तय गरिएको पनि बताउनु भयो ।

मन्त्री शर्माले श्रीलंका बसाईका क्रममा सार्क राष्ट्रहरुबीच आपसी हितका विविध विषयमा पनि छलफल हुने बताउनु भयो । गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीसहित श्रीलंका प्रस्थान गर्नु भएका उहाँ आगामी शुक्रबार स्वदेश फर्कनु हुनेछ ।