नेपालले आज केन्या संग खेल्ने

काठमाडौं माघ,२९-

आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आज(सोमबार) अंक तालिकाको पुछारमा रहेको केन्याको सामना गर्दैछ।

नामिबियाको विन्डहकस्थित वान्डरर्स क्रिकेट मैदानमा खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। खेल केन्या र नेपाल दुबैका लागि महत्वपूर्ण छ।

तीन खेल खेलेर दुईमा जित र एकमा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको नेपाल केन्या विरुद्ध जित निकाल्दै शीर्ष दुईमा रहने सम्भावना लगभग पक्का गर्न चाहान्छ भने शीर्ष दुईमा रहने सम्भावना जिवितै राख्न केन्यालाई आजको खेल जित्नै पर्नेछ।

दुई खेल खेलेको केन्या दुबैमा पराजित हुँदै ६ टोली सम्मेलित प्रतियोगिताको पुछारमा छ। शनिबार हुने भनि तय भएको केन्या र नामिबियाबीचको खेल भने बर्षाले हुन नसकेपछि मंगलबारलाई सारिएको थियो।

नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई एक रनको झिनो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले आइतबार बलियो प्रतिद्धन्द्धि यूएईलाई पाखा लगाउँदै दोस्रो स्थानमा उक्लिएको हो।