सहभोजपछि नरैनापुरका दलितहरु उत्साहित

गाउँपालिका अध्यक्ष शाहलाई घरमै बोलाएर खाजा खुवाए

नरैनापुर(बाँके),बैशाख,०६-

बांकेको नरैनापुर गाउँपालिकाले सहभोज गरेपछि वडा नम्बर ३ बालापुरका दलितहरु उत्साहित भएका छन् ।

सहभोज गरिएको पर्सिपल्ट शुक्रबार बालापुरका दलितहरुले गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई गाउँमै बोलाएर खाजा खुवाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह सहितको टोलीलाई उनीहरुले खाजा खुवाएका हुन् । गाउँपालिकाले छुवाछुत मुक्त अभियान सञ्चालन गरेर सहभोज आयोजना गरेपछि उनीहरु खुसी भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो ।

उनीहरुले भेदभाव र छुवाछुत अन्त्यका लागि गाउँपालिकाले थालेको अभियाले आफूहरु खुसी भएको बताएका छन् । गाउँपालिका अध्यक्ष शाहले सोच र मानसिकतामा परिवर्तन ल्याउन आफूले गरेको पहललाई स्थानीयले साथ दिएको बताउँदै दलित घरपरिवारसंग संगै बसेर खाजा खाँदा आफू पनि उत्साहित भएको बताउनुभयो ।

“आफ्नो घरमा बनेको चिज संगसंगै बसेर खानलाई उनीहरुले हामीलाई बोलाएका रहेछन्, हामीले संगै बसेर नास्ता खाँयौं, अस्ति गरिएको सहभोज कार्यक्रमले स्थानीयको सोचमा परिवर्तन आउन थालेको महसुस मलाई भएको छ, म अत्यन्त खुसी छु,” अध्यक्ष शाहले भन्नुभयो ।

जग्गा समेत नभएका बालापुरका ४० दलित घर परिवारलाई जग्गासंगै बलियो आवासको व्यवस्था गर्ने प्रतिबद्धता पनि अध्यक्ष शाहले जनाउनुभएको छ । स्थानीय दलित र गैरदलितलाई एकै थलोमा राखेर गाउँपालिकाले बुधबार बृहत् सहभोज गरेको थियो । जातीय छुवाछुत अन्त्यका लागि अभियान थालेको गाउँपालिकाले सहभोज गरेको हो ।