शव पहिचानका लागि तस्वीर सार्वजनिक

काठमाडौँ,साउन,२६-काठमाडौँको  गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर सार्वजिनक गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको हो।तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग आग्रह गरेका छन् ।

गोंगबु चोक नजिकै आइतबार सुटकेसभित्र अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले सुटकेशभित्र शव भेटिएको ठाउँभन्दा करिब तीन सय मिटर पर जेब्रा झोला भित्र टाउको र खुट्टा फेला पारेको थियो ।

प्रहरीले  ती व्यक्तिको हत्या शव फेला परेको स्थलमा नभएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । अन्यत्रै हत्या गरी शव ल्याएर त्यहाँ राखेको भन्नेमा प्रहरी ढुक्क छ । यसले गर्दा प्रहरी हत्या गरिएको वास्तविक घटनास्थलको खोजीमा पनि जुटेको छ । आज घटनास्थलमा महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीको नेतृत्वमा पाँच टोली खटिएका छन् ।

टोलीले टाउको र खुट्टा तथा शरीर फेला परेको स्थल आसपासको घरका हजार भन्दा बढी कोठाहरूमा ‘सर्च अपरेसन’ चलाइसकेको छ ।टोलीले आज पनि अपरेसनलाई निरन्तरता दिने भएको छ । यसअघि हिजो महाशाखाका एसएसपी थापा, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी श्यामलाल ज्ञवाली, फरेन्सिक विशेषज्ञ र अपराध अनुसन्धानमा विशेषज्ञ कुकुरसहितको प्रहरी टोली पनि घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो ।

‘ह्युमन इन्टेलिजेन्स’ सँगै ‘टेक्निकल इन्टेलिजेन्स’को काम भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । परिसरका अनुसार घटनासँग सम्बन्धित धेरै कुरा ‘रिकभर’ भएको छ । हाल हत्या गरिएका अवस्थामा फेला परेको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।