वसपार्क क्षेत्रका विकृति रोक्न अभियान सञ्चालन

इन्द्र कार्की/
महेन्द्रनगर,भाद्र,२१-

महेन्द्रनगर वसपार्क क्षेत्रलाई विकृतिरहित वनाउन यस क्षेत्रमा अभियान सञ्चालन गरिएको छ । महेन्द्रनगर वसपार्क क्षेत्रका व्यवसायी संस्थाहरु वसपार्क क्षेत्रका विकृति हटाउन सामुहिक रुपमा अघि सरेका छन् । होटल व्यवसायी संघ कञ्चनपुरको अगुवाईमा यातायात तथा होटल व्यवसाय संग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरु संयुक्त रुपमा यस अभियानमा लागेका हुन् ।

महाकाली सेती यातायात व्यवसायी समिती,पवनदुत यातायात व्यवसायी समिति, महाकाली टेम्पो तथा टयाक्सी व्यवसायी समितीले वसपार्क क्षेमा एक साता देखि अभियानका लागि आपसमा हातेमालो गर्दैछन् । वसपार्क क्षेत्रमा भई रहेका यात्रु तान्ने,लुटपाट गर्ने,नक्कली टिकट काट्ने, ठग्ने जस्ता विकृति हटाउन यस प्रकारको अभियान थालेको सम्वद्ध व्यवसायीहरु वताउछन् ।

व्यवसायीहरुको यस अभियानलाई प्रहरीले पनि सघाईरहेको छ । अभियान सञ्चालनमा आए देखि विकृतिहरु कम हुदै गईरहेको वताइन्छ । हाल दैनिक जसो होटल व्यवसायी संघका पदाधिकारी, सदस्यहरु,महाकाली,पवनद्त र टेम्पो समितीका पदाधिकारी र कर्मचारीहरु विहानै देखि वसपार्क क्षेत्रमा खटिने गरेका छन् ।

भीमदत्त नगर पालिकाले आधुनिक वसपार्क निमार्ण कार्य गत वर्ष देखि अगाडी वढाएपछि सवारी साधनहरु वसपार्क वाहिर र सडकमा नै पार्किङ्ग गर्न थालिए पछि यात्रु तान्ने, नक्कली टिकट दिएर ठग्ने जस्ता विकृति झन वढेको वेला यस प्रकारका अभियानले निरन्तरता पाए त्यस्ता विकृति कम हुदै निरुत्साहित हुने व्यवसायीहरुको वुझाइ छ । प्रहरीले केहि दिन अगाडी वसपार्क क्षेत्रमा नक्कली टिकट दिएर ठग्ने गिरोहका केहि जनालाई प्रकाउ गरेको वताइन्छ ।