भ्रमण वर्षको उद्घाटन आज : ४ देशका पर्यटन मन्त्री सहभागी हुँदै

भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य

काठमाडौं,पुस१६-

नेपालले आज बुधबारबाट तेस्रो भ्रमण वर्ष उद्घाटन गर्दैछ । सरकारले उद्घाटन समारोहको आयोजना गरी भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष सुरु हुँदैछ ।

भ्रमण वर्षको उद्घाटन समारोहमा ४ वटा मुलुकबाट पर्यटन मन्त्रीस्तरीय प्रतिनिधित्व भएको छ । भारत, चीन, जमैका र म्यानमारबाट मन्त्रीहरू आएका छन् । उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार स्वागत गरे ।

उद्घाटन समारोहलाई विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट ३५ भन्दा बढी पत्रकारलाई नेपाल आमन्त्रण गरिएको छ । उनीहरूलाई नेपालका विभिन्न गन्तव्यसम्म लैजाने योजनासमेत छ ।

पहिलो पटक भ्रमण वर्ष मनाउने क्रममा सरकारले कुल ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । तर, उक्त लक्ष्य १० वर्षपछि मात्रै पूरा भयो । सन् २००७ मा आइपुग्दा बल्ल ५ लाख पर्यटक आगमनको आँकडा छोएको थियो ।दुई दशकपछि आयोजना हुन लागेको तेस्रो भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ ।

कार्यक्रम दशरथ रंगशालामा हुनेछ ।उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भ्रमण वर्षको शुभारम्भ हुने यस उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बुधबार भ्रमण वर्षको अवसर पारी विमानस्थल, सीमा नाका तथा मुख्य पर्यटक क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । हरेक प्रदेश तथा स्थानीय तहमा समेत सोही प्रकारको तयारी भइरहेको छ ।

कतिपय स्थानमा पर्यटकलाई आकर्षित गर्न सरप्राइज गिफ्टको समेत तयारी गरिएको छ । भ्रमण वर्षलाई लक्षित गरी निजी क्षेत्रले छुट तथा अफर सार्वजनिक गरेका छन् । सन् २०२० भर होटेल र होमस्टेले छुट सुविधा दिँदैछन् । ट्राभल र टुरमा समेत छुट सुविधा सार्वजनिक गरिएको छ ।