आज टोपी दिवस मनाइँदै : राष्ट्रिय मान्यता दिन माग

काठमाडौं,पुस,१६-

तस्विरमा: दीपेन्द्र सारु मगर (दुर्लभ) र सरोज भट्टराई

आज नेपालमा सातौ टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका साथ काठमाडौंमा यो दिवस मनाइएको हो ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाएका हुन् ।

टोपी दिवस मनाउने अभियान चलाएको जागरुक युवा अभियान नेपालका युवाहरुले सकेसम्म नेपाली पोशाक र नभए पनि नेपाली टोपी अनिवार्य लगाएर कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् ।

सहभागी युवाहरुले नेपाली राष्ट्रिय पोशाक र टोपीसम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यसैगरी गन्तव्य नेपाल ग्रुपले पनि टोपी दिवस मनाएको छ । टोपी लगाएका पर्यटन व्यवसायीहरुले राष्ट्रिय पहिचान कायम गरौ भन्दै पर्यटकीय नगर ठमेल परिक्रमा गरेका थिए ।

उनीहरुले दौरा, सुरुवाल, ढाका टोपी र गुन्यो चोलीलाई राष्ट्रिय पोशाक घोषणा गर्न माग गर्दै नयाँ पुस्तालाई नेपाली मौलिकता हस्तान्तरण गर्न पनि माग गरेका थिए ।

टोपी दिवसलाई राष्ट्रिय मान्यता दिन पनि उनीहरुले सरकारसंग माग गरेकाछन् । यो दिवस सात वर्षदेखि मनाईंदै आएको छ ।