गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ पुन: नियुक्त

नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई बुधवार पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल !!

पोखरा,वैशाख,२९-गण्डकी प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीमा बुधवार नियुक्त गर्नु भएको हो ।

यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजिनामा दिनुभएको थियो ।उहाँको राजिनामापछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो ।

यसबीचमा बहुमतको सरकार बनाउनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनको प्रयास गरिए पनि जनमोर्चामा मतैक्यता नहुँदा विफल भएको थियो ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट एक महीनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री गुरुङले आजै प्रदेश प्रमुख पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । 

शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, उच्चपदस्थ  कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । रासस